साझेदारी गर्नुहोस्

दुई महिनाको उतारचढावपछि नेपाली राजनीतिको सुई फेरि मंसिर ४ अघिको बिन्दुमा आइपुगेको छ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सहितका ८ दलले फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै मंसिर ४ अघिको गठबन्धन ब्युँतिएको छ। पुरानो गठबन्धन ब्युँतिएको मात्रै छैन, पहिलाभन्दा बलियो पनि बनेको छ।

मंसिर ४ को चुनाव हुनु केही दिनअघि मात्र तत्कालीन सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी फेरि पुरानै गठबन्धनमा फर्किएको छ। यही चुनावबाट उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि उक्त गठबन्धनमा थपिएका छन्।

यो राजनीतिक बदलावसँगै पुस १० गते बनेको वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ। गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी यसअघि नै सरकारबाट बाहिरिसकेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार बिहान मात्र केन्द्रसहित प्रदेशका सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ। केन्द्र सरकारमा उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय लिएको र तीन वटा प्रदेशमा सरकार चलाइरहेको एमाले पनि नैतिक रूपमा सत्ताबाट बाहिरिनु पर्ने अवस्थामा पुगेको छ।

दुई महिनाको राजनीतिक अस्थिरताले केही दल र तिनका नेतालाई नसोचेको लाभ भएको छ भने केहीले हानी व्यहोर्नु परेको छ।

पछिल्लो राजनीतिक उथलपुथलले सबैभन्दा धेरै लाभ भएका व्यक्ति हुन्, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल।

शुक्रबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच तीनै जना नेता पालैपालो प्रधानमन्त्री हुने सहमति भएको छ। सार्वजनिक नगरिएको उक्त सहमतिमा प्रचण्ड सुरूको साढे दुई वर्ष, त्यसपछि नेपाल एक वर्ष र चुनाव गराउने गरी अन्तिममा डेढ वर्षका लागि देउवा प्रधानमन्त्री बन्ने उल्लेख रहेको एक शीर्ष नेताले सेतोपाटी जानकारी दिए।

उक्त सहमतिअनुसार राजनीति अघि बढे अबको साढे २ वर्षपछि माधव नेपाल प्रधानमन्त्रीको कुर्सीमा हुने छन्। संसदमा १० जना मात्र सांसद भएको पार्टीका अध्यक्ष नेपालका लागि प्रधानमन्त्री पाउने सुनिश्चितता हुनु धेरै ठूलो लाभ हो। अहिलेको उथलपुथल नभएको भए नेपाल प्रधानमन्त्रीको कुर्सीमा हुने कुरा कसैले सोचेको पनि थिएन।

मंसिर ४ अघिको पुरानो गठबन्धनमा सुरूमा माओवादी अध्यक्ष प्रचण्ड दुई वर्ष र त्यसपछि कांग्रेस सभापति देउवा तीन वर्ष प्रधानमन्त्री बन्ने सहमति थियो। उक्त सहमतिअनुसार देउवा पहिलो कार्यकाल प्रचण्डलाई छोड्न तयार भएनन्। सुरूमा आफैं प्रधानमन्त्री बन्नेतिर उनी लागे।