साझेदारी गर्नुहोस्

रसुवाका शुन्दर मोक्तान अहिले सम्पर्क बिहिन छन् । क्रोएशिया जान्छु भनेर घरबाट हिँडेका उनी एकाएक रसीयन सेनाको बर्दीमा देखिएका थिए । त्यसपछि उनी कहाँ छन् केही अत्तोपत्तो छैन । `गत जनवरी चार तारीखका दिन चन्द्र तामाङ नाम गरेका व्यक्तिले शुन्दरको मृत्युको खबर सुनाएका थिए त्यसपछि उनी समेत सम्पर्कमा छैनन् ।´ सुन्दरको पारिवारिक स्रोतले भन्यो ।

कुनै बेला नेपाली सेनामा जागीरे भएका शुन्दर मोक्तान परिवार पाल्न धौधौ भएपछि भएको जागीर समेत छोडेर मलेसिया हानिए । केही समय त्यहाँ बिताएपछी उनी नेपाल फर्किए र सानोतिनो काम गर्न थाले । नेपालमा काम गर्दागर्दै खाडीमा कमाएको पैँसा सकियो तर कुनै उपलब्धि हुन सकेन । पारिवारिक जिम्मेवारीले थप अप्ठेरोमा पारेपछि उनले युरोप जाने निर्णय गरे । ऋण खोजेरै भएपनी घरमा भएकी बुढी आमाको उपचार र साना छोराछोरीको पढाई खर्च जुटाउन उनी विदेशीने निचोडमा पुगे । क्रोएशियामा राम्रो कमाइ हुन्छ भन्ने सुनेका मोक्तान ऋण खोज्न थाले । जसोतसो नौ लाख रुपैयाँ जुटाएर उनी काठमाडौँ छिरे तर पैँसा दलालले खाए । उनको क्रोएशिया जाने सपना अधुरै रह्यो । यसो हुँदा पनि  उनलाई परिवारको जिम्मेवारीले विमुख हुन दिएन ।

उनले जसरी भएपनि परिवारको सपना पूरा गर्नु थियो र कमजोर आर्थिक अवस्था संग भिड्नु थियो । त्यसको विकल्प उनले खोजी रहेका थिए । त्यतिकैमा उनले सामाजिक संजालबाट नेपालीलाई पनि रसियन सेनामा भर्ती गरिएको सूचना पाए । त्यहाँ राम्रो कमाइ हुने र छोटो समयमा धेरै कमाउन सकिने गलत समाचारको सिकार बन्न पुगे । त्यसको लागी मोक्तानले भिजिट भिसा मार्फत रसीया जाने निर्णय गरे । पत्नी पातली थिङलाई ऋण खोज्न लगाएर उनी काठमाडौँमा रसिया जाने योजना बनाउन थाले । पत्नीले जसोतसो सात लाख ऋण खोजेर पति शुन्दरलाई पठाइन । उनी दुबई हुँदै रसिया पुगेपछि तीन चार पटक पत्नी संग कुराकानी गरेका थिए ।

कुराकानीको क्रममा रसियन सेनामा सोचेजस्तो नभएको र आफू फसेको बताउन थाले । कतिखेर मरिन्छ भन्ने कुराको कुनै अत्तोपत्तो नभएको बताएका मोक्तानले गत सेप्टेम्बर २३ मा अन्तिम पटक पत्नी पातली संग कुराकानी गरेका थिए । त्यसपछि मोक्तान र परिवार बिचको सम्पर्क टुटेको थियो । त्यसको लगत्तै तीन महिना पछि एक्कासि उनको मृत्युको खबर आयो । चन्द्र तामाङ नाम गरेका व्यक्तिले उनको मृत्यु भएको खबर सुनाएका थिए । त्यसपछि उनी संगको सम्पर्क समेत टुटेको शुन्दर मोक्तानका आफन्त जसुराम तामाङले बताए ।

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नम्बर पाँचको भोर्ले गाउँमा रहेको शुन्दर मोक्तानको परिवारमा बुढी आमा पवित्रा सहित पत्नी पातली र दुईजना छोराछोरी छन् । अहिले उनकी पत्नी पातली छोराछोरीलाई काखमा च्यापेर पतिको मृत्युको खबर बुझ्न काठमाडौँ धाइरहेकी छन् । कहिले परराष्ट्र मन्त्रालय त कहिले नेपाल स्थित रसियन दूतावास संग हार गुहार गरिरहेकि छन् । मोक्तानको श्वास र लासको ठेगान नहुँदा उनको परिवारले थप पिडा झेलिरहेको छ । शुन्दर मोक्तानका आफन्त उनी बारे सत्यतथ्य जानकारी पाँउ भन्दै सरकार संग हारगुहार गरिरहेका छन् ।