साझेदारी गर्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

यसअघि रोकिएको अध्यादेश आज जारी भएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।

यसअघि सरकारले ५ वटा अध्यादेश सिफारिस गरी पठाएकोमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश आवश्यक अध्ययनका लागि भनेर रोकिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई प्रतिस्थापन विधेयकमार्फत सच्याउने वाचा गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल त्यसलाई जारी गर्न तयार भएको खुलेको छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई टेलिफोन गरेर राष्ट्रपतिको चासो अनुसार प्रतिस्थापन विधेयक ल्याउँदा अध्यादेशलाई सच्याउने प्रतिबद्धता जनाएका थिए। माघीको अवसरमा राष्ट्रपतिले शीतल निवासमा राखेको कार्यक्रममा भेट हुँदा पनि प्रधानमन्त्री ओलीले अध्यादेश रोकिएको विषयमा चासो राखेका थिए। त्यसमा केहीबेरको छलफलपछि उनले आफू सच्याउन तयार रहेको बताएका थिए।