साझेदारी गर्नुहोस्

धरौटीमा छुटेपछि भने – एक थोपो रगत हुञ्जेलसम्म दुर्गा प्रसाईं बिक्दैन, झुक्दैन र हार्दैन । एक हजार पल्ट झुण्डिन, मर्न तयार छु 

काठमाडौं: मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट आफू राजनीतिमा उत्रिएको घोषणा गरेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी प्रसाईंले आफूलाई सिध्याउन महिला अघि सारिएको, तर अदालतले आमाको भूमिका निर्वाह गरेको उनको टिप्पणी छ ।

प्रसाईंले भने, ‘एकजना केटीलाई मुख छाड्यो, गालीगलौज गर्‍यो भनेर मलाई लगियो, जबकि मैले कसैको नाम लिएको थिइनँ । मलाई लगेपछि सोधियो- केपी ओलीलाई किन यस्तो भनेको ? प्रचण्डलाई किन यस्तो भनेको ? शेरबहादुरलाई किन यस्तो भनेको छ ? सबै जवाफ दिइसकेपछि सम्मानित अदालतले तारेखमा छोडेर आमाको भूमिका निभाएको छ ।’

प्रसाईं काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् ।

उनले आफ्नो लडाइँ अहिलेका प्रधानमन्त्रीसँग रहेको बताए ।

प्रसाईंले भने, ‘एमाले त दुर्गा प्रसाईंसित मंसिर ७ मा हारिसक्यो । देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्‍यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो । मैले आजसम्म राजनीति गरेको थिइनँ, तर आजदेखि राजनीति पनि सुरु गरें । तपाईंहरुका लागि एक हजार पल्ट झुण्डिन तयार छु । तपाईंहरुको लागि एक हजार पल्ट मर्न तयार छु ।’

उनले भने,‘मेरो बोली नै हतियार हो । यो बोली सर्वहाराको हो । दुर्गा प्रसाईंको आवाज मर्‍यो भने तपाईंहरुको बोलिदिने कोही हुँदैन । एक थोपो रगत हुञ्जेलसम्म दुर्गा प्रसाईं बिक्दैन, झुक्दैन र हार्दैन ।’

हिरासतमा आफूलाई प्रहरीले राम्रो व्यवहार गरेको भन्दै उनले धन्यवाद दिए, तर वीर अस्पतालले जबरजस्ती डिस्चार्ज गरिदिएको गुनासो गरे ।