साझेदारी गर्नुहोस्

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकार बलियो भने पनि यसको धरातल कमजोर रहेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरेका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै उनले भने, ‘संसदमा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डपछि सरकार ढल्छ । अस्थिरता छ । अहिले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन।’

अहिलेको सरकारमा आत्मविश्वास देखिएन’

लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको बताए ।

दुई तिहाइ बहुमतको सरकार भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहार त्यस्तो नदेखिएको उनले बताए ।

‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियो। तर टिसर्ट लगाएको मान्छे समाएको छ । कराएको मान्छे समाएको छ’, उनले भने, ‘उपसभामुखलाई हटाउने लगायतका काम गर्नुहुँदैन, यो दुई तिहाईको सरकार त्यतातिर छ ।’