साझेदारी गर्नुहोस्

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ र स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ अधिकारीबीच छलफल भएको छ ।

अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ ।

परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण कार्यलाई अघि बढाउने सहमति भएको छ ।

सरकारले २०७३ सालमा भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

बैठकमा निर्माण सम्पन्न भइ सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरुको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको थियो ।

अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए ।

स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनौट र अस्पताल निर्माण प्रकृया अघि बढाउने जानकारी दिए ।

नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री माननीय विष्णु पौडेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेलज्यू (दुवै मन्त्रालयका पदाधिकारी सहितको) बिचमा छलफल भएको छ :-

छलफल भएका बुँदाहरू : – 

१. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेका कार्ययोजनामा छलफल भएको,

२. अन्तरमन्त्रालयका आवश्यक कामकारवाहीमा सहजीकरण गर्ने विषयमा छलफल भएको

३. न्याम्सको डी पी आर तथा वीर अस्पतालको विस्तार / निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा विज्ञापन गरी उत्कृष्‍टताको आधारमा छनोट गरि आवश्यक प्रक्रिया अघि बढाउने स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयले अघि बढ्न सहमति जनाएको

४. वीर अस्पताललाई जलन उपचारका लागि डेडिकेटेड अस्पतालको रूपमा ( जलन उपचारको सेन्टर बनाएर ) विकास गर्ने र उपचार सेवा सहुलियतपूर्ण प्रदान गर्ने तथा जलन उपचारको सेवालाई सहुलियतपूर्ण उपचारको सुनिश्चित गरि सातै प्रदेशमा विस्तार गर्ने

५. हालसम्म स्वास्थ्य सेवा सम्बन्धी राज्यको दायित्व अन्तर्गतका; बीमा, ८ प्रकारका कडा रोग, डाइलासिस, आमा सुरक्षा कार्यक्रम लगायतका शिर्षकमा बाकीं रहेको बक्यौता रकम निकासा गर्न, हाल भुक्तानी के कति बाकी छ सो को विवरण स्वास्थ्य मन्त्रालयले पठाउने र अर्थ मन्त्रालयले फर्छ्यौटको दायित्व छिटो अघि बढाउने

६. ओ एण्ड एम का लागि थप छलफल गरी ठोस नीति तय गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने

७. मुटु रोगको उपचार र मानव अङ्ग प्रत्यारोपणको सेवा विस्तारलाई सातै प्रदेशमा पुर्‍याउने स्वास्थ्य मन्त्रालयको प्रस्तावमा – क्यान्सर उपचारको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले गरेको कार्य प्रति माननीय अर्थमन्त्रीज्यूले सराहना प्रकट गर्नुहुँदै यसका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको