साझेदारी गर्नुहोस्

अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सीमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिंगा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।