काठमाडौं, गागल – लोकतन्त्रका लागि प्राण आहुति दिएका वीर सहिदहरू प्रति श्रद्धा अर्पण गर्दै राष्ट्रिय सहिद दिवस तथा एघारौं कागेश्वरी साहित्य सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। बुधबार लोकतान्त्रिक सहिद उद्यान, गागलमा आयोजित उक्त कार्यक्रम नेपालका प्रख्यात साहित्यकार, जनप्रतिनिधि, बुद्धिजीवी, तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य रामेश्वर फुयालले नेपालका महान सहिदहरूको योगदानको स्मरण गर्दै लोकतन्त्र प्राप्तिका लागि उनीहरूले पुर्याएको बलिदान अमूल्य रहेको बताए। उनले पहिलो सहिद लखन थापा, १९९७ सालका चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, सुखानीका सहिदहरू, २०४६ र २०६२/०६३ को जनआन्दोलनका ज्ञात-अज्ञात वीर सहिदहरूलाई नमन गर्दै, उनीहरूको बलिदानकै कारण नेपाल गणतन्त्रको यात्रामा अगाडि बढ्न सफल भएको उल्लेख गरे।
“आफ्नो देश आफैँ बनाऔं” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रम लोकतान्त्रिक सहिद उद्यान गागल व्यवस्थापन समिति, कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन विकास समिति तथा अभिनव साहित्य समाज जोरपाटीको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।
साहित्य सम्मेलनको क्रममा विभिन्न कविहरूले सहिदहरूको गौरवगान गर्दै देशभक्ति तथा लोकतन्त्रको महत्व झल्काउने कविताहरू वाचन गरे। उनीहरूको ओजस्वी रचनाले उपस्थित दर्शक-श्रोतालाई भावविह्वल तुल्यायो।
कार्यक्रममा नेता फुयालले आफू मन्त्री भएको समयमा लोकतान्त्रिक सहिद उद्यानको विकासका लागि गरिएको प्रयासबारे जानकारी गराउँदै, आगामी दिनमा सहिदहरूको योगदान झल्काउने थप सालिकहरू निर्माण गरिने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, साहित्यकार, समाजसेवी तथा युवा पुस्ताको उल्लेखनीय सहभागिता रह्यो। आयोजक समितिले सहिदहरूको बलिदान सधैं प्रेरणादायी रहने बताउँदै, आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्यो।