उपत्यकाको सुरक्षामा नेपाल प्रहरीलाई अग्रमोर्चामा राखेर दोस्रोमा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागले आफ्नो दायित्वअनुसार काम गर्नेछ । सुरक्षाको मुख्य नेतृत्व एआइजी थापालाई दिइएको छ।
यस्तै जिल्लाको नेतृत्व सम्बन्धित जिल्ला प्रहरीपरिसरका प्रमुखलाई दिएर परिचालन गरिएको छ । सुरक्षा निकायले परस्पर समन्वयमा फिल्डको सुरक्षा गर्नेछन्। जसमा केन्द्रबाहेक उपत्यकामा रहेका तीनवटै सुरक्षा निकायको लगभग सबै जनशक्ति आवश्यकताअनुसार परिचालन भइरहेको जनाइएको छ। आवश्यकताका आधारमा केन्द्रबाट पनि थप जनशक्ति पठाउन सकिने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक(डिआइजी) कुबेर कडायतले जानकारी दिए । उनले भने, ‘सुरक्षामा कुनै कमी रहँदैन। आवश्यक समन्वय भइरहेको हुन्छ। रिजर्भ फोर्स तम्तयार नै हुन्छ। आवश्यक परेको खण्डमा जति पनि पठाइन्छ ।’ जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयको संयन्त्र पनि सचेत रहेको मन्त्रालयका प्रवक्ता सहसचिव दिनेश भट्टराईले बताए।
सुरक्षा निकायहरूले युवा संघको कार्यक्रममा १० हजार र प्रसाईंको कार्यक्रममा आठ हजार जति मानिस भेला हुनसक्ने अनुमान गरेका छन्।
युवा संघले व्यवस्थाविरोधी गतिविधि र सरकारविरुद्ध विरोध प्रदर्शनको कार्यक्रम आह्वान गरेको छ भने प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाउ महाअभियानबाट ‘बृहत् मुक्ति आन्दोलन’ नामक प्रदर्शन कार्यक्रम आह्वान गरेका छन्। प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै राजतन्त्रको पक्षमा वकालत गरिरहेका छन्। यस्तै बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुलिरहेको भन्दै ऋण मिनाहाको माग गरिरहेका छन्।