साझेदारी गर्नुहोस्

लुम्बिनी प्रदेशसभा पाँचौँ अधिवेशनको दोस्रो बैठक दिउँसो सवा १ बजेबाट सुरु भएको छ । अहिले प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने क्रम जारी छ ।

आजको बैठकमा प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएको दुई वटा विधेयक सम्बन्धी प्रस्ताव पेस हुनेछ । मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिको रूपमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सभामा विधेयक सम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सन्देशसहित फिर्ता पठाएका थिए  ।

यस्तै प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गर्ने कार्यसूची छ ।