साझेदारी गर्नुहोस्

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नेपालका अन्य छ प्रदेशमा चिकित्साशास्त्रमा अध्यापन सुरु भइसकेको सन्दर्भमा अब सुदूरपश्चिम प्रदेशमा पनि उक्त कार्यक्रम सञ्चालन गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए ।

उनले भने, ‘विश्वविद्यालय बनाउनुअघि गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने र आगामी असारदेखि ‘एमबिबीएस’को पढाइ थाल्ने गरी तयारी भइरहेको छ ।’

शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउनेसम्बन्धी विधेयक संसदीय समितिमा छलफलमा रहेकाले संसद्को आगामी अधिवेशनमा त्यसलाई प्रवेश गराइने मन्त्री पौडेलले बताए ।