साझेदारी गर्नुहोस्

नवरात्र (बडा दशैं)को चौथो दिन आज देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिँदैछ ।

आश्विन शुक्ल चतुर्थी (दुर्गापक्षको चौथो दिन) कुष्माण्डा देवीको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतिकको रुपमा पूजा गरिन्छ ।

कुष्माण्डा देवीमा उष्णता (ताप) तथा शीतलतालाई बराबर गरिदिने शक्ति रहेको ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डा देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सबै प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

देवी कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ ।

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरेर पृथ्वीको रचना गर्न सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा वर्णन गरिएको छ ।

कुष्माण्डाको अर्थ कुभिण्डो पनि भएकाले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी बलि पनि दिइन्छ ।

नवरात्रमा देवीको पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नवरात्रको घटस्थापनादेखि नौ दिनसम्म पूजा गरेको प्रसाद जमरा आदि विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।