साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले आगामी चैत मसान्तसम्ममा अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्न निर्देशन समिति गठन गरेका हुन् । 

काठमाडौँ: नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाका महाधिवेशन निर्धारित सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याइ आवश्यक निर्देशन समेत गर्न विभिन्न तीन समिति गठन गरेको छ ।

गत साउन २३ गतेको कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले आगामी चैत मसान्तसम्ममा नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरूण दलको महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्न बुधबार निर्देशन समिति गठन गरेका हुन् ।

निर्देशन समिति गठन :

नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वय राजिव ढुङ्गाना र प्रतिमा गौतम रहेका छन् ।

त्यस्तै, नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी तथा सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणि कोइराला रहेका छन् ।

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा सदस्यमा केन्द्रीय सदस्यद्वय र सरिता प्रसाइं र जीतजङ्ग बस्नेत रहेका छन् ।