साझेदारी गर्नुहोस्

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयमा विशेष बैठक डाक्दै बाढी पहिरो जस्ता विपद्पछि सङ्क्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन आग्रह गरेका छन् ।

उनले तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुलाई सङ्क्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन आग्रह गरे ।

स्वास्थ्य मन्त्री पौडेलले बाढी पहिरो पछि पानीका श्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका सङ्क्रामक रोग लाग्न नदिन आ-आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरेका हुन् ।

उनले भने,‘स्वास्थ्यकर्मीहरुले विपद्का समयमा बिरामीको उपचारका लागि पुर्‍याएको भूमिका सराहनीय छ, अब यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला । आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौँ । ’

बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निर्देशन अनुसार तत्काल बैठक डाकेर आवश्यक ठाउँमा थप स्वास्थ्य सामग्री पठाउने र सचेतना तथा सङ्क्रमण रोक्न नदिन आवश्यक थप कदमहरू चाल्ने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले संघीय राजधानी उपत्यकामा जनसङ्ख्या पनि बढी रहेको र अहिले सङ्क्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर सङ्क्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने बताए । यसका लागि प्रदेश र महानगरहरूसँग हातेमालो गर्ने पनि उनले बताए ।

बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेललाई धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुुद्धिकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गरे ।