साझेदारी गर्नुहोस्

केही दिनअघि परेको अविरल वर्षाले मुख्य र सहायक राजमार्ग समेतमा क्षति गरेपछि सरकारले सोमबारदेखि नै देशभरि रुट परमिट खुला गरेको छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।

अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले आजैदेखि रुट परमिट खुला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुले बताए ।

अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको उनको भनाइ छ । अहिले दशैंसहितका ठूला चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुको संख्या ह्वात्तै बढ्ने गर्छ ।

नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।