साझेदारी गर्नुहोस्

ईरानले इजरायलमा मिसाइल हमला थालेको छ । इजरायली सेना (आइडीएफ) ले नै ईरानबाट आफ्नो भूमिमा मिसाइल आक्रमण भएको जनाएको हो ।

यतिखेर पूरै इजरायलमा साइरन बजाइएको छ । इजरायली सेनाले त्यहाँका नागरिकहरूलाई सचेत रहन र होम फ्रन्ट कमाण्डको निर्देशन पालना गर्न भनेको छ ।

सेनाले मानिसहरूलाई साइरन बजेको सुन्नासाथ सुरक्षित स्थानमा जान र नयाँ सूचना जारी नभएसम्म त्यहीँ बसिरहन पनि आग्रह गरेको छ । साथै, मिसाइललाई आकाशमै नष्ट गर्ने प्रयासमा आफूहरू लागेको पनि जनाएको छ ।

ईरानले प्रहार गरेका मिसाइल यतिखेर इजरायलको आकाशमा देखिएका छन्‌ । जेरुसेलमस्थित बीबीसीको मध्यपूर्व ब्यूरोका पत्रकारहरूले पनि दुई मिसाइल खसालेको आवाज सुनिएको जनाएका छन्‌ ।