साझेदारी गर्नुहोस्

काठमाडौं : ओशोधारा नेपालका लागि राष्ट्रिय संयोजकमा मन्जु शर्मा नियुक्त भएकी छिन्।

विभिन्न क्लब र शैक्षिक तथा सामाजिक फोरममार्फत् लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएकी शर्मा बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा समेत उनी आबद्ध छिन् ।

हालै भारतको हरियाणा मुरथलस्थित ओशोधारा आश्रममा सम्पन्न ओशोधारा संसद कार्यक्रमका क्रममा मन्जु शर्मा ओशोधारा नेपालका लागि राष्ट्रिय संयोजकमा नियुक्त भएकी हुन् ।

यसैबीच शर्माले आफुलाई राष्ट्रिय संयोजक नियुक्त भएकोमा बधाई दिनेप्रति आभार व्यक्त गरेकी छिन् ।

समाजिक संजालमा शर्माले लेखेकी छिन्, ‘ओशोधारा संघका संस्थापक तथा ओशोधारा का भागीरथ, समर्थ गुरु सिद्धार्थ औलिया जीको आशिर्वादले, हालै सम्पन्न ओशोधारा संसदमा ओशोधारा नेपालको राष्ट्रिय संयोजकको रूपमा नियुक्त हुँदा म अत्यन्त हर्षित छु। मलाई यो जिम्मेवारी लिँदा सहयोग र बधाई दिनुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु।’

नवनिर्वाचित राष्ट्रिय संयोजक शर्माले ओशोधारा नेपाल बुद्धनगर ध्यान केन्द्र तथा समर्थगुरुद्वारा निर्देशित अन्य ध्यान केन्द्रहरूबाट कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिइन् ।

उनले ओशोधारा संघका संस्थापक समर्थगुरु सिद्धार्थ औलियाको जीवन्त धारामार्फत् ध्यान तथा अन्य प्रज्ञा कार्यक्रमहरूले सन्तुलित जीवन जिउने कला सिकाउँदै, आन्तरिक र बाह्य रूपमा समृद्ध बन्न मद्दत पुर्याउँछन् भन्ने धारणा व्यक्त गरिन्।

समर्थगुरु सिद्धार्थ औलियाको ध्यान, साक्षी, समाधि, र सुमिरन कार्यक्रमले साधकहरूलाई साधना विकासमा उल्लेखनीय सहयोग पुर्याउँदै आएको छ। समर्थगुरुको नेतृत्वमा नेपालमा साधनाका नयाँ चरणहरू पुनः सुरु हुँदैछन्, जसले सनातन धर्मलाई आत्मसात गर्दै हरेक घर, समाज र देशभर शान्ति र प्रेमको ज्योति फैलाउने लक्ष्य राखेको भन्ने जानकारी दिइएको छ।