साझेदारी गर्नुहोस्

नेपाली सेनाले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ ।

गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभे्रपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी आज बेलुकीसम्म सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

सेनाको टोलीले उद्धारसँगै हवाइ साधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउँदै आएको छ । गृह मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन र राहत वितरण भइरहेको जनाइएको छ । विपद्का घटनामा सुरक्षाकर्मीले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढीको सकुशल उद्धार गरेको जनाएको गृह मन्त्रालयले जनाएको छ ।

सोमबार बेलुकीसम्म विपद्मा परी दुई सय नौ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार विपद्का कारण अवरुद्ध राजमार्ग सुचारु गर्ने क्रम जारी छ । कतिपय बढी प्रभावित राजमार्गमा वैकल्पिक सडक सञ्चालनको तयारी भइरहेको छ ।