साझेदारी गर्नुहोस्

असोज १८ गते एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउने

काठमाडौं : नेपालमा पहिलो पटक एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको छ ।

नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी-२०२४ का लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउँदै छन् ।

उनी प्रतियोगिता उद्घाटन तथा समापन समारोहमा सहभागी हुन फ्लाई दुबइमार्फत असोज १८ गते बिहान नेपाल आउँदै छन् ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो । यस प्रतियोगिताका लागि नेपालले पछिल्लो ३ महिनादेखि पोखरामा तयारी गरिरहेको छ ।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहको छ । काठमाडौंमा हुने एसिया रग्बी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् । जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।