साझेदारी गर्नुहोस्

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएकी जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले उहाँले अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड–१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित भएका बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

जी‐२० को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभयो । ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको उहाँले स्वागत गर्नुभयो ।