साझेदारी गर्नुहोस्

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘बिरालो’ को संज्ञा दिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रचण्डसँग भएको भेटवार्ताको तस्बिर सार्वजनिक गरेपछि माओवादी सशस्त्र विद्रोहका सहकर्मी समेत रहेका डा. भट्टराईले प्रचण्डलाई ‘बिरालो म्याउँ’को उखानमार्फत कटाक्ष गरे ।

‘वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा – बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउँ गरिहाल्छ रे! प्रचण्ड र रवीन्द्र मिश्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो’, डा. भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखि जान्ने सबैलाई थाहा छ। अहिले ‘बिरालो म्याउँ’ गरेकै हो। किनकि प्रचण्डको वास्तविकता त्यही हो।’

उनले अगाडि भनेका छन्, ‘यसको अर्थ हो- गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन, नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन्। खोस्न दिनु हुँदैन।’