साझेदारी गर्नुहोस्

गृहमन्त्रालयमा सुरक्षा निकायका सबै प्रमुखहरुको उपस्थितिमा उच्चस्तरीय बैठक सुरू भएको छ । गृहमन्त्री रमेश लेखकले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो च्याम्बरमा बोलाएका हुन् ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारीमा रहेको प्रहरीलाई अवरोध हुने चर्चाबीच गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कडा एक्शन चाल्न निर्देशन दिन लागेको स्रोतले बतायो । लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली हिजोदेखि नै परिचालित छ ।

तर, रास्वपाका नेता तथा कार्यकर्ताहरुको हुलहुज्जतको कारण लामिछानेलाई पक्राउ गर्न असहज भएको बताइएको छ । प्रहरीले लामिछानेलाई पक्राउ गर्नको लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको बताइएको छ। लामिछानेले भने आफू अनुसन्धानमा सघाउन तयार रहेको बताउँदै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेको पनि नाम किटान गरेर कारबाहीको लागि सिफारिश गरेको छ । हिजोमात्रै रविका पूर्व साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।