साझेदारी गर्नुहोस्

नेपाल राष्ट्रिय बांग्ला समाज काठमाडौंले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

नेपाल राज्यभर छरिएर रहेका सम्पूर्ण बांग्ला भाषी समुदायले आफ्नो भाषा, संस्कृति, भेष–भुषा, रहन सहन, कलाकृति, धर्मको संरक्षण तथा जर्गेणा गर्ने उद्देश्यले नेपाल राष्ट्रिय बांग्ला समाज काठमाडौंको स्थापना वि.सं. २०८० फाल्गुण २३ गते भएको हो ।

भदौ २९ गते शनिबार बांग्ला समाज काठमाडौंले एक कार्यक्रम गरी आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बार्षिक साधारणसभामार्फत् समाजको नयाँ कार्यसमिति समेत चयन गरिएको हो ।   

समाजको ९ सदस्यीय कार्य समिति गठन भएको छ । नयाँ संचालक समितिमा पार्थो सरकारको नेतृत्व रहनेछ भने संस्थाको केन्द्रिय उपाध्यक्षमा किरण कुमारी सरकार चुनिएकी छिन् ।

नेपाल राष्ट्रिय बांग्ला समाज काठमाडौंको सचिवमा दिपक कुमार भट्टाचार्य निर्वाचित भए । त्यस्तै, कोषाध्यक्षमा बिन्दानन्द नुन्दी तथा सदस्यहरुमा रिया बनर्जी, प्रमोद चक्रवर्ती, किरण शंकर सरकार, पितास हल्दर, चन्दना सेन गुप्त निर्वाचित भएका छन् ।

बार्षिक साधारणसभाका प्रमुख अतिथि संदिप कुमार झाले संविधानले व्यवस्था गरे अनुरुप हरेक जात, धर्म, संस्कृति, भाषा भाषीले आ-आफ्नो भाषा, संस्कृतिको जर्गेना गर्न पाउने अधिकार प्राप्त गरेको हुँदा नेपालका बांग्ला भाषी नेपाली नागरिकले समेत सबै किसिमका अधिकार प्राप्त गर्न सक्ने बताए । यसका लागि आफ्नो अधिकारका लागि यस समाजको नेतृत्व र सदस्यहरुले सक्रियता देखाउनुपर्ने प्रमुख अतिथि झाको भनाई थियो ।

कार्यक्रममा सहभागी वक्ताहरुले नेपाल राष्ट्रिय बांग्ला समाज काठमाडौंले विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गरी समाजलाई क्रियाशिल राख्नुपर्नेमा जोड दिए ।