साझेदारी गर्नुहोस्

जापानको दक्षिणी भेगमा दशकौँयताको सबैभन्दा ठूलो आँधी आएको छ । प्रतिघण्टा २५२ किलोमिटर गतिको आँधीका कारण हालसम्म एकै परिवारको तीनसहित चार जनाको ज्यान गइसकेको छ ।

दक्षिणी भेगका ५० लाखभन्दा बढी मानिसलाई स्थानान्तरणको निर्देशन दिइएको छ । सानसान नाम दिइएको सो आँधीका कारण जापानको यातायात प्रणालीमा पनि असर परेको छ । रेलमार्ग, सडकमार्ग अवरुद्ध भएका छन् भने सयौँ उडान रद्द भएको छ ।

आँधीका कारण आएको बाढी र पहिरोमा परी ८४ जना घाइते भएको बताइएको छ । २ लाख ३० हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध भएको छ ।

जापानको मौसम एजेन्सीका अनुसार दक्षिणी क्युसु क्षेत्रमा शुक्रबार बिहानसम्ममा १२ सयमिलिमिटर पानी पर्नेछ ।