साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुने गरी तयारी गर्न पार्टी निकट इन्जिनियरहरूलाई निर्देशन पनि दिएका छन्।

शनिबार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरूको भेलामा बोल्दै सभापति देउवाले सो निर्वाचनमा पार्टी समर्थित इन्जिनियरहरूले जित्नुपर्ने धारणा राखे।

सभापति देउवाले त्यसका लागि एकतावद्ध भएर सकेसम्म सहमतिमै उम्मेदवार चयन गर्न पनि सचेत गराए।

‘सहमति हुन सकेन भने पनि स्वस्थ प्रतिस्पर्धात्मक तरिकाले मित्रवत रुपमा चुनाव गर्नुस्। र भोलि आउने चुनौतिहरुमा नेपाली कांग्रेस पार्टी छ। यो डमोक्रेटिक पार्टी हो। त्यसले यो इन्जिनियर्सजस्तो संस्थाहरूमा नेपाली काँग्रेस समर्थित साथीहरू छन्। अझ बढी यसलाई बलियो बनाएर कांग्रेस समर्थितलाई ल्याएर भोलीका भविष्यको राजनीतिमा सम्पूर्ण प्राविधिक क्षेत्रमा नेपाली कांग्रेसको विजय होस् भन्ने कामना गर्न चाहन्छु। तपाईंहरूले जित्नुहोस भन्ने हार्दिक कामना गर्दछु,’ देउवाले भने।

आगामी भदौ २८ गते ललितपुरमा नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचन हुँदैछ।

‘अहिले तपाईंहरू आपसमा मिलेर जानुस्। भरसक तपाईंहरू मिलेर जानु बेस हुन्छ। भोलिको चुनावमा नेपाली कांग्रेसमा समर्थित साथीहरूले यो चुनावमा जित्नुपर्छ भन्ने हाम्रो धारणा छ। त्यसकारण साथीहरूले त्यसै अनुरुप सब एक भएर आपसमा एकतावद्ध भएर पहिला आपसमा नै सहमती गर्नुस्,’ उनले भने।