साझेदारी गर्नुहोस्

तनहुँ दुर्घटनामा मृतकको शव लिन भारतीय विमान चितवन आउने भएको छ । शनिबार अपरान्ह ३ बजे विमान भरतपुर विमानस्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार अहिलेसम्म १६ वटा शवको पोष्टमार्टम गरिएको छ । अब ११ जनाको पोष्टमार्टम बाँकी छ ।

यस्तै तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आएकी हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घाइतेहरुको अवस्था बुझ्न सिधै त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको थियो ।