साझेदारी गर्नुहोस्

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो नसुने आफूलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

देउवाले आफ्नो निजी निवास बूढानीलकण्ठमा मन्त्रीहरूलाई बोलाएर काम गर्दा समस्या भए प्रधानमन्त्री ओलीलाई गुनासो गर्न निर्देशन दिएका दिएका हुन् ।

यस्तै प्रधानमन्त्रीले कुरा नसुने आफूलाई जानकारी गराउन उनले निर्देशन दिए । मन्त्रीहरूलाई अगाडि राखेर देउवाले प्रत्येक महिना ब्रिफिङ सुनेर छलफल हुने जानकारी दिएका थिए ।

उनले काम गर्ने दौरान समस्या हुने वातावरण आए आफूलाई ब्रिफिङ भएमा प्रधानमन्त्री ओलीसँग थप कुरा गर्न सहज हुने पनि बताएका थिए ।

सभापति देउवालाई भेट्न कांग्रेसका १२ जनै मन्त्रीहरू शनिबार साँझ बुढानीलकण्ठ पुगेका हुन् ।

ओली नेतृत्वको सरकारमा कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह‚ गृहमन्त्री रमेश लेखक‚ परराष्ट्रमन्त्री आरजू राणा देउवा‚ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी‚ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे‚ कानुन मन्त्री अजय चौरासिया‚ स्वास्थ्य मन्त्री प्रदीप पौडेल‚ कृषि मन्त्री रामनाथ अधिकारी‚ ऊर्जा मन्त्री दीपक खड्का तथा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही रहेका छन् । यस्तै, ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ र वन तथा वातावरण राज्यमन्त्री रूपा विक रहेका छन् ।

भेटमा सभापति देउवाले मन्त्रालयगत ब्रिफिङ सम्बन्धित मन्त्रीहरूबाट सुनेका थिए । देउवाले सबै मन्त्रीहरूलाई दत्तचित्त भएर काम गर्न निर्देशन दिए ।

मन्त्रीहरूले पनि एक महिनाको अवधिमा आफ्नो मातहतका मन्त्रालयबाट भए गरेका कामहरू बारे सभापति देउवालाई जानकारी गराएका थिए ।

सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगनकुमार थापा पनि छलफलमा सहभागी थिए ।