साझेदारी गर्नुहोस्

घरेलु मैदानमा सुरु साफ यू–२० च्याम्पियसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो । पहिलो हाफमा निराजन धामीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो ।

खेलको २४ औँ मिनेटमा निराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको हो । श्रीलंकाका गोलरक्षकसहित ७ खेलाडीलाई विट गर्दै गरेको निराजनको शसक्त प्रहारले पोष्टको जाली चुमेको थियो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले जित हात पारेको हो ।

खेलको दोस्रो हाफमा नेपालले अग्रता बनाउने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता फराकिलो पार्ने मौका गुमायो ।

जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समुह चरणको दोस्रो खेलमा नेपालले बिहिबार बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।

लिगमा भोलि सोमबार समुह बी को पहिलो खेलमा भारत र भुटान खेल्नेछन् । सो खेल यही मैदानमा दिउँसो ३ बजे हुनेछ ।

 

च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका छन् ।