साझेदारी गर्नुहोस्

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बुधबारसम्म ६ जनाले आवेदन दिएको चलचित्र विकास बोर्डका सदस्य सचिव तथा सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव राजेशकुमार थापा जानकारी दिए ।

उनका अनुसार फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डंगोलले आवेदन दिएका हुन् ।

आवेदन दिएकाहरूको योग्यता पुगे वा नपुगेको परीक्षण हुन बाँकी छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन भर्न भनेको थियो ।

मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गर्ने थापाले बताए । यीमध्ये सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ ।

समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्छ ।