साझेदारी गर्नुहोस्

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमको लागि आवश्यक कागजातसहित सिफारिस गर्नसमेत अनुरोध गरेको हो।

कार्यालयले राहतका लागि मृतक तथा बेपत्ता व्यक्तिको परिवारका तर्फबाट निवेदन, सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस आवश्यक पर्ने जनाएको छ। यस्तै गरी मृतकको नागरिकता र मृत्यु दर्ताको प्रमाणपत्रको छायाप्रति, मृतकसँगको नाता प्रमाणित र नाम थर फरक परेकामा सो को किटानी वडा सिफारिसको कागजात आवश्यक पर्नेछ।

यस्तै, राहत बुझ्ने मृतकको नजिकका हकदारको नागरिकताको प्रतिलिपि, निजको चेकबुक, स्थायी लेखा नम्बरको प्रतिलिपि र घटनास्थल प्रहरी सर्जमिन मुचुल्का तथा प्रहरी प्रतिवेदन पनि चाहिने छ। नजिकको हकदार भन्नाले क्रमशः मृतकको पति वा पत्नी, छोरा वा छोरी, बुवा वा आमा, दाई वा भाईलाई जनाउने पनि कार्यालयले स्पष्ट पारेको छ।

२०८१ असार ३१ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो जस्ता विपद्जन्य घटनाका कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पार्न नसकेको यकिन भएमा विपद्‍बाट पीडित व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको थियो।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बसमा चालकसहित १७ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए। सो बस गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै भेलबाढीले बगाएर त्रिशूलीमा हराइरहेको छ। हराइरहेका २४ व्यक्तिको शव भेटिए पनि ३८ जना अझै बेपत्ता छन्।