साझेदारी गर्नुहोस्

हाल (सोमबार साँझ) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ। अनि बागमती प्रदेशका केही, गण्डकी प्रदेशका थोरै तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति देशभर मौसम साधारणतया बदली (आकाशभरि बादल) रहने छ। यस क्रममा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै राति कोसी, मधेस र बागमती प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने कोसी र बागमती प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। यस्तै धेरै, थोरै तथा एक/दुई स्थान भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ।