साझेदारी गर्नुहोस्

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।

एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका  छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा(२)  बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज बेलुकी  ५ बजेसम्मको समय दिएका थिए ।शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन् । उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए ।

पुनस् समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घ सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई फेरि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा कांग्रेसबाट प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा पनि थिए । तर, यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएकोले बाँकी काम पूरा गर्नका लागि उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।