एउटा चर्चित गीति थेगो छ — मुख खोलेर भन्न पो भा’ छैन, तर कल्लाई थाहा छैन!
नेकपा एमालेको आन्तरिक जीवनमा अहिले यो गीत बढी नै मेल खान पुगेको छ।
एमालेका कार्यकर्ता पार्टीले बेहोरिरहेको आन्तरिक संकटसँग परिचित छन्। समस्याको गुह्य के हो र समाधान कहाँ अड्किएको छ भन्ने सांगोपांगो पनि उनीहरूलाई थाहा छ। तर उनीहरू थाहा भएर पनि केही बोल्न नसक्ने निरीह पात्र बन्न पुगेका छन्।
र, सायद माथिको गीतझैं भित्रैदेखि महसुस गरिरहेका छन् — मुख खोलेर भन्न पो भा’ छैन, एमालेको समस्या कसलाई थाहा छैन!
यही पुस १० गते बसेको एमाले सचिवालय बैठकले कार्यकर्ताहरूको यो भाव थप चरितार्थ गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० को बैठकमा भीम रावललाई संगठित सदस्यताबाटै हटाए। त्यस्तै, व्यवसायी मीनबहादुर गुरूङसँग दान लिएर पार्टी कार्यालय बनाउने सचिवालय निर्णयविरूद्ध हाँक दिने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राखे।
यी दुवै निर्णय पार्टी सचिवालयबाट भएजस्तो देखिए पनि ओलीकै जोडबलमा भएका हुन् भन्ने कतैबाट छिपेको छैन। उनले आफ्नो नेतृत्वमाथि उठेका र उठ्न सक्ने सम्भावित प्रश्न अन्त्य गर्न तीन जनालाई सिकार बनाएका हुन् भन्नेमा सबै जानकार छन्। यसले एमालेभित्रको उकुसमुकुस झन् बढाएको छ।
यो स्टोरीमा हामी एमालेभित्र उकुसमुकस बढ्नुका केही कारणबारे चर्चा गर्नेछौं।