साझेदारी गर्नुहोस्

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनमा मात्रै नभई मंसिरमा हुने उपनिर्वाचनमा पनि माओवादीले एक्लै चुनाव लड्ने बताएका छन् ।

पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि एक्लै चुनाव लडेर माओवादीलाई फेरि आफ्नै पहिचानसहित स्थापित गर्ने संकल्प लिन लागेको बताए ।

उनले भने, ‘प्रतिक्रियावादीहरुले सोचे अहिले माओवादीको संख्या घटेको छ, सरकारबाट पनि बाहिर गएपछि माओवादी धेरै कमजोर होला भन्ने सोचेका थिए । अहिले तिनीहरुको सात्तो गएको छ माओवादी देशैभरि जाग्न थाल्यो भनेर । यहाँ भएका सामाजिक संघसंस्थाको निर्वाचनमा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले हराएको छ ।’

उनले कहिले कांग्रेस र कहिले एमालेसँग मिल्दा माओवादीको पहिचान हराउने आशंका बढेपछि आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताए ।

बालुवाटारबाट बाहिरिएपछि अहिले जनताको प्रधानमन्त्री हुन थालेको महसुस भएको छ: प्रचण्ड

प्रचण्डले आफू प्रधानमन्त्री हुँदाभन्दा अहिले आफू धेरै सक्रिय भएको बताएका छन् ।

उनले भने, ‘देश र जनताको नेतृत्व गर्नु प्रधानमन्त्री हुनुमात्रै होइन । म अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा धेरै उत्साहित भएको छु । जोश बढेको छ । म जनताको बीचमा फर्किन पाएको छु । बालुवाटारमा हुँदा कताकता सरकारी काम, कर्मचारीतन्त्र र अनेक नियम-कानूनले जोडिन नपाएको अहिले प्रधानमन्त्रीबाट बाहिर आउँदा म जनताको प्रधानमन्त्री हुन थालेको जस्तो महसुश हुन थालेको छ ।’