साझेदारी गर्नुहोस्

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपैयाँ बराबरको बालिनालीमा नोक्सानी भएको बताउनुभएको छ ।

बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपद्ले ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी गरेको बताउनुभएको हो ।

यद्यपी सो तथ्याङ्क प्रारम्भिक भएको मन्त्री अधिकारीको भनाई छ । उहाँले सरकारले किसानहरुलाई राहत दिने सन्दर्भमा गम्भीरतापूर्वक सोचिरहेको र मन्त्रालय छलफलमा रहेको बताउनुभयो । उहाँले राहतका लागि दातृ निकायहरुलाई पनि अनुरोध गरिएको बताउनुभयो ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले विपद्को अहिलेको परिस्थितिमा सरकारले संकटकाल लगाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले पूरक बजेटको माध्यमबाट पुनर्निर्माणलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।

उहाँले नजिकिदै गरेको चाडपर्वलाई ध्यान दिँदै काठमाडौं उपत्यकाबाट करिब २० लाख मानिसहरु काठमाडौं बाहिर जानुपर्ने भन्दै उहाँले सडक सञ्जाल निर्माण गर्न ढिलो गर्नु नहुने बताउनुभयो ।