साझेदारी गर्नुहोस्

काठमाडौँ: परराष्ट्रमन्त्री डा. आरजु राणाले नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार सम्बन्धी अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छिन् ।

संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री डा. राणा वासिङ्टन डिसीमा छिन् ।

भेटमा मन्त्री डा. राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसद्ले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराएकी थिइन् ।

मन्त्री डा. राणाले नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू पनि छिट्टै टुङ्ग्याउने जानकारी गराएकी थिइन् ।

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको सो भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवअधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको हो ।