साझेदारी गर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलन उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएको छ ।

मन्त्रालयले आफ्नै विद्यमान स्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरेको छ ।

मन्त्रालयले सातै प्रदेशमा यस्तो उपचार थाल्न लागेको हो । जसअनुसार कोशी प्रदेशमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मधेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ ।

गण्डकीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको नेपालगञ्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी तयारी गरिएको छ । कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी प्रक्रिया अघि बढेको छ।