साझेदारी गर्नुहोस्

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ । अविरल वर्षाका कारण बाढीपहिरो तथा विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति हुनुका साथै सडक, पुलहरु पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन रहेको प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

यात्रा गर्ने क्रममा बाटोमा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पु¥याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको सचिवालयले जनाएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतसँग देशभरको विपद्को अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको जनाइएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बाढी पहिरोमा परेर ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकतावद्ध भइ पीडितको सेवामा परिचालित हुन आह्वान गर्नुभएको छ ।