साझेदारी गर्नुहोस्

इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबिच भेटवार्ता भएको छ ।

भेटमा उनीहरूबिच नेपाल र माल्दिभ्सबिच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री पौडेलले नेपालका चिकित्सकहरूले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको स्मरण गर्दै माल्दिभ्सको स्तरीय स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी भएको बताए ।

माल्दिभ्सका मन्त्री खलीलले नेपालका नागरिकले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै त्यहाँका मेडिकल अन्डरग्रयाजुएटलाई पोस्ट ग्रयाजुएट शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न प्रस्ताव गरेका थिए ।

जवाफमा मन्त्री पौडेलले यसबारे आवश्यक तयारीपछि थप प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।

स्वास्थ्य मन्त्री पौडेल इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरूको १२ औँ उच्चस्तरीय बैठक तथा पाँचौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा त्यहाँ पुगेका हुन् । उनी कार्यक्रमका लागि मंगलबार राती त्यसतर्फ प्रस्थान गरेका थिए ।

मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे सम्बोधन गर्ने कार्यक्रम छ । एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरूको बैठकमा मन्त्री पौडेलले बिहीबार सम्बोधन गर्ने तालिका छ ।