साझेदारी गर्नुहोस्

मधेस कांग्रेसका सभापति कृष्ण यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाए

वीरगन्ज: मधेस प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेस मधेस प्रदेशले दबाब बढाउन थालेको छ ।

वीरगन्ज आइपुगेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्दै प्रदेश सरकारको नेतृत्व लिनका लागि पहल गर्न मधेस कांग्रेसका नेताहरुले ध्यानाकर्षण गराए ।

वीरगन्जस्थित होटल दियालोमा सभापति देउवासँग प्रदेश कार्यसमितिले भेटवार्ता गरेको थियो ।

मधेस कांग्रेसका सभापति कृष्ण यादवले ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको नेतृत्व लिनका लागि पहल गर्न माग गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाली कांग्रेसको सांगठनिक वा सरकार निर्माण सङ्ख्यात्मक भूमिकामा मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको यहाँलाई अवगतै छ, मुलुक सङ्घीयतामा प्रवेश पश्चात् यसको महत्त्व अझै वृद्धि हुँदै गएको छ । मुलुक सङ्घीयतामा प्रवेश पश्चात् संवैधानिक निर्वाचन प्रणालीका कारण गठबन्धनबाट मात्र सरकार निर्माण हुने अवस्था छ । सङ्घीय सरकार र विभिन्न प्रदेशहरूको सरकारको नेतृत्व गर्ने अवसर सभापति ज्यूकै सबल नेतृत्वका कारण कांग्रेसले प्राप्त गरिरहेको अवगत नै छ ।’

मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने विषय अहिलेसम्म प्राथमिकतामा नपरेका कारण कांग्रेसका मतदाताहरूमा निराशा बढ्दै गएको प्रदेश कार्य समितिको ठहर छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ – ‘यही ठहरलाई मध्यनजर गर्दै प्रदेश कार्यसमितिको असोज ७ गते बैठक बस्यो, जसमा सभापतिसमक्ष मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार निर्माणमा प्राथमिकताका साथ पहल र अवसरका लागि ध्यानाकर्षण गराउने भन्ने निर्णय भयो । जसअनुरूप यसतर्फ सिङ्गो पार्टी र सभापतिको गम्भीर ध्यानाकर्षणको लागि हार्दिक अनुरोध गरिन्छ ।’

मधेसमा सरकार बनेको सय दिन क्रस गरेलगत्तै कांग्रेस मधेस प्रदेशले केन्द्रीय गठबन्धन अनुसार, आफ्नो नेतृत्वमा सरकार बनाउन दबाब बढाउन थालेको हो ।