साझेदारी गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली अहिले बिहान साढे ११ बजे कतार एयरलाइन्सबाट अमेरिकाको न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरे। सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीको सम्मानमा गारत अर्पण गरेको थियो ।

ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।