साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताउनुभएको हो ।

उपसभापति वाग्लेले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बीचमा अन्यौलता सिर्जना भइरहेको बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेश सरकारले पनि संविधानको मर्म अनुसार काम गर्न नसकेको बताउनुभयो ।

उपसभापति वाग्लेले पालिकाहरुलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताउनुभयो । प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सभालाई गाउँपालिकाका सदस्यहरु रहेको विधायकी थलो बनाउनुपर्ने उहाँको भनाई छ । उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरुको बनाउनुपर्ने बताउनुभयो ।

उपसभापति वाग्लेले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरुप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेका बताउनुभयो ।