साझेदारी गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जाने भएका छन्। 

परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे बुधबार औपचारिक घोषणा गरेको हो।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत २२ सदस्य हुनेछन्।

यस्तो छ भ्रमणको तालिका : 

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा महासभालाई सम्बोधन गर्नेछन्।

महासभामा उपस्थित भएका विदेशी पाहुनाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने भोजमा पनि उनी सहभागी हुनेछन्।

त्यस्तै, प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघले नै आयोजना गर्ने ‘फ्युचर समिट’लाई समेत सम्बोधन गर्नेछन्।

मन्त्रालयका अनुसार, सेप्टेम्बर २३ मा उनले न्युर्योकस्थित कोलम्बिया विश्वविद्यालयमा ‘लोकतन्त्र र आर्थिक समृद्धितिर नेपालको यात्रा’ विषयमा सम्बोधन समेत गर्नेछन्।

त्यस्तै, अर्को अमेरिकी विश्वविद्यालय हार्वर्डमा पनि प्रधानमन्त्री ओलीले ‘नेपालको दृष्टिकोणः संक्रमणकालीन न्यायदेखि वातावरण न्यायसम्म’ विषयमा सम्बोधन गर्नेछन्।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय बैठक गर्ने ओलीले महासभाको साइडलाइनमा अन्य उच्चस्तरीय भेटवार्ता समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।