साझेदारी गर्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस –एमाले आफैं ब्याक हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- ‘उपसभामुख एउटा इमानदार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईँहरूले वरियता मिच्न लाग्नु भएको कुरा छ नि रु भन्ने पत्रकारको प्रश्नमा उनले भने- ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

उनले संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा एकपटक नियुक्त गर्नु राम्रो हुने बताए । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरूमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने ।