साझेदारी गर्नुहोस्

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले केही दिन पहिला आफूले एक टेलिभिजनमा चुच्चे नक्साका सन्दर्भमा गरेको टिप्पणीलाई केही सेकेन्डको भिडियोलाई मात्र काटेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएको भन्दै स्पष्टीकरण दिएका छन् ।

शुक्रवार विज्ञप्ति जारी गर्दै चौधरीले आफूले बोलेको विषयलाई जबरजस्ती विवादित बनाउन खोजिएको आरोप समेत लगाएका छन् ।

‘कार्यक्रममा चुच्चे नक्साको सन्दर्भ उठेपछि मैले महाकाली सन्धिका नाममा नेपालको महाकाली नदीलाई दुवै देशले पानी, लगानी, उत्पादन र उपभोगमा आधा आधाको सिद्धान्त उल्लेख गरेको कारणले भारतले महाकाली नदी र महाकाली नदीको नक्कली मुहानको पश्चिम उत्तरमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी दाबी गरेको र दाबी पुगिरहेको कुरा भारतले गरिरहेको छ भनेको हो’, चौधरीको स्पष्टीकरणमा भनिएको छ ।

साथै उनले गलत महाकाली सन्धिका कारण भारतले दाबी गरेको र सो सन्धि नै सच्चाउनुपर्ने आफ्नो भनाइ रहेको बताएका छन् ।

पाँच बुँदे स्पष्टीकरणमा चौधरीले मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता र पार्टी जीवनको विषयमा गम्भीर र संवेदनशील रहेको भन्दै मुलुकको भौगोलिक अखण्डता,स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको समेत जनाएका छन् ।