साझेदारी गर्नुहोस्

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले विपक्षी राजनीतिक दलहरूलाई हतोत्साहित गर्नका लागि उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताएका छन् ।

उनले सत्ता पक्षलाई सहयोग नगरेकै कारण उपसभामुखलाई हटाउन खोज्नु गलत भएको बताए । प्रमुख सचेतक चौधरीले उपसभामुखलाई हटाउने कुरा निन्दनीय भएको उल्लेख गरे ।

संघीय संसद् भवन परिसर, नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै चौधरीले उपसभामुखले गल्ती गरेको कुरा प्रमाणित नभएको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिगार्ने कार्य गरेका व्यक्तिहरूको बारेमा छानबिन गर्नुपर्छ। कारबाहीको दायरालाई अगाडि बढाउनुपर्छ। तर एउटा सामान्य केशलाई लिएर, अरु राजनीतिक दललाई हतोत्साहि गर्ने उद्देश्यले हामीलाई सहयोग गरेन भन्ने कारणले उपसभामुखलाई हटाउने कुरा गलत हो।’

अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिगार्ने व्यक्तिहरू कांग्रेस र एमालेभित्रै रहेका भन्दै उनले उनीहरूलाई छानबिन गरी कारबाही गर्न पनि माग गरे ।