साझेदारी गर्नुहोस्

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मेयर बालेन्द्र शाहको हालसम्मको गतिविधि र निर्णय नगरवासीहरूको पक्षमा नरहेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस महानगर समितिको बैठकपछि नगर सभापति नीलकाजी शाक्य र महानगरको मेयर उमेदवार नेतृ सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै महानगरका जननिर्वाचित प्रमुखको हालसम्मको गतिविधि र निर्णय नगरवासीहरूको पक्षमा नगरेको स्पष्ट भएको उल्लेख छ ।

काठमाडौं महानगरमा पर्ने नदी किनारमा २० मिटर छाड्नुपर्ने मापदण्डका विषयमा मेयर शाहले महानगरवासीको हितमा काम नगरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

बागमती, विष्णुमति, धोबीखोला, मनोहरा, टुकुचा, लगायतका नदी खोलाहरूको किनारा बाट दायाँबायाँ २० मिटर क्षेत्र छोडी मात्र निर्माण गर्न सकिने भनी २०६५ मंसिर १ मा भएको निर्णयअनुसारको प्रावधानलाई थप २० मिटर मापदण्डसहित पालना गरिनुपर्ने भनीसर्वोच्च अदालतले यही साउन २४ मा काठमाडौं महानगरपालिका लगायतलाई उत्प्रेषणयुक्त जारी गरेको आदेशको कांग्रेस काठमाडौं महानगर समितिले सम्मान गर्ने जनाएको छ ।

‘काठमाडौं महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरु पर्दछन्,’ विज्ञप्तिमा भनिएको छ,‘यस निर्णयले स्थानीय वासिन्दाहरूको पुराना बस्ती, वासस्थान र धार्मिक-सांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालन्तरमा लेप हुने सम्मको अवस्था सिर्जना भएको नेपाली काग्रेस काठमाडौं महानगर समितिले महसुस गरेका छ ।’