साझेदारी गर्नुहोस्

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले’जनयुद्ध’ का सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको बताएका छन्।

प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको प्रचण्डको भनाइ छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई लक्ष्य गर्दै

भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।’

प्रधानमन्त्री ओलीले बुधबार च्यासलमा आयोजित पोलिटव्युरो बैठकमा प्रचण्डलाई लक्ष्य गर्दै ‘एक राउण्ड किक दिएको, असन्तुलित अभिव्यक्ति दिँदैछन्’ भन्ने अभिव्यक्ति दिएका खबर आएका थिए।

संविधानविपरीत अभिव्यक्तिको भण्डाफोर गर्न निर्देशन 

प्रचण्डले सत्तारुढ दलका नेताहरूले संविधानविपरीत अभिव्यक्ति दिइरहेकोले त्यसको भण्डाफोर गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

उनले सहिदहरूका बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताए।

‘जनयुद्ध’लाई हिंसाको रुपमा व्याख्या गरिएकोतर्फ लक्ष्य गर्दै प्रचण्डले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ। तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन्। तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्। संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ। संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ।’