साझेदारी गर्नुहोस्

थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छन् ।​​

सिनावात्राको नियुक्ति थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाटै प्रधानमन्त्री रहेका श्रेथा थाभिसिनलाई हटाएको थियो ।

राजाको अनुमोदनसँगै अब पेन्टोगटार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नेछिन् । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ ।

अल जजिराका अनुसार हालै थाई संसद्ले पेन्टोगटार्नलाई थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो । संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उनको स्थान सोही पार्टीकी पेन्टोगटार्नले लिएकी हुन् ।

उङ इङ उपनामले प्रसिद्ध पेन्टोगटार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उनी परिवारको तेस्रो सदस्य बनेकी छन् ।