साझेदारी गर्नुहोस्

थाइल्यान्डको संसदले देशका पूर्व प्रधानमन्त्री तथा अरबपति व्यापारी थाक्सिन सिनावात्राकी छोरी पेटोङटार्न सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा छनोट गरेको छ।

३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी उनी देशको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । उनी आफ्नी फुपु यिङलकपछि यस पदमा नियुक्त हुने दोस्रो महिला बन्नेछिन्।

उनको चयन पूर्व प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि भएको हो। बर्खास्त भएका र नवनियुक्त प्रधानमन्त्री दुवै फेउ थाई पार्टीका हुन्, जसले सन् २०२३ को चुनावमा दोस्रो स्थान प्राप्त गरेर सत्तारूढ गठबन्धन बनाएको थियो।

पेटोङटार्नलाई थाइल्यान्डको अवरुद्ध अर्थतन्त्रलाई पुनर्जीवित गर्ने चिनौती छ । यसका साथै उनलाई सैन्य कू र अदालतको हस्तक्षेपबाट बच्ने चुनौती पनि छ जसले उनको पार्टीको नेतृत्वमा गठन भएका यसअघिका चारवटा प्रशासनहरूलाई बर्खास्त गरेको छ ।